विदेशमा सिकेको सिप र ज्ञान स्वदेश पुर्‍याउने दुताबस को प्रयास

समाचार

विदेशमा सिकेको सिप र ज्ञानसँगै मुलुकमा लगानी भित्र्याउने उद्धेश्यले नेपाली दूतावास अष्ट्रेलियाले जनवरी अन्तिम साता स्कील तथा नलेज ट्रान्सफर वेभिनार आयोजना गर्ने भएको छ। वेभिनारको तयारी बैठकमा बोल्दै एनआरएनका पूर्व अध्यक्ष तथा अस्ट्रेलियाका सफल व्यवशायी शेष घलेले नेपाल सरकारले यसलाई प्राथमिकताको सूचीमा राखे मात्र यस्ता वेभिनार र सेमिनारको निचोड सफल हुने अनुभव सुनाए। डायस्पोराको सम्भावना र महत्वको विषयमा राज्य गम्भीर भएमा मात्र धेरै कुरा सम्भव हुने घलेले बताए। राज्यले यसको महत्व बुझेर नीति र योजना तर्जुमा गरे धेरै कुरा सम्भव हुने घलेको आशय थियो। ‘एनआरएनले हरेक वर्ष नलेज स्कील ट्रान्सफर भनेर कार्यक्रम र बहस चलाएको चलाएकै छ,’ घलेले भने, ‘त्यसबाट निस्किएको निष्कर्ष पनि बुझाएको बुझाएकै छ। तर सरकारले डायस्पोरालाई इंगेज बनाउन सकेको छैन।’ कार्यक्रममा अस्ट्रेलियाबाट नेपालमा स्थान्तरण गर्न सकिने सिप, ज्ञान र लगानीका विषयमा स्वास्थ, शिक्षा र कृषि महत्वपूर्ण रहेको सहभागि वक्ताले धारणा राखेका थिए। कोरोना महामाहारीबिच प्रत्यक्ष सहभागितामा कार्यक्रम गर्न नसकिरहेको अवस्थामा वेभीनार माध्यमबाट भए पनि विदेशमा सिकेको ज्ञान र सिप नेपालसम्म पुर्‍याउन लागि सानो प्रयासको थालनी गरिएको नेपाली राजदूत महेशराज दाहालले जानकारी दिए। ‘हामीले अस्ट्रेलियाबाट कृषि, स्वास्थ्य र शिक्षा जस्ता महत्वपूर्ण पाटामा नेपाललाई जोड्नसके मुलुकलाई ठूलो फाइदा पुग्ने देखेका छौं। त्यसै अनुरूप यसै सेरोफेरोमा रहेर विज्ञ अनि परामर्शदाता तथा उद्यमी र कृषि अन्तगर्त पशुपालन र उन्नत जातका बिउ बिजन अनि मौसम अनुरूपका फलफूल उत्पादनको अस्ट्रेलियन प्रणालीलाई नेपाल भित्राउन सकेमा निकै ठूलो सफलता हात पार्न सक्छौं’,उनले भने, ‘त्यसैका लागि यहाँका नेपाली मुलका विज्ञ र परार्शदाता अनि उद्यमीलाई समेटेर वेभिनारको आयोजना गर्न लागेको हौ।’ कार्यक्रममा बोल्दै एनएसडब्लुका महावाणिज्यदूत दिपक खड्काले थोरै विषय समेटेर महत्वपूर्ण वहस गरेमा मात्र उचित निष्कर्ष निस्कने भएकाले कृषि र स्वास्थ्यजस्ता महत्वपूर्ण विषय समेटर अगाडि बढनुपर्ने बताए। ‘हामीले गरेका महत्वपूर्ण वहसहरू र त्यसका निचोडलाई सरकारले महत्वको विषयभित्र राखेमा सहयोगको दायरा बढ्नसक्छ’, खड्काले भने। भिक्टोरियाका महावाणिज्यदूत चन्द्र योन्जनले निकै महत्वपूर्ण विषयमा विज्ञको सुझाव र सहयोगसहित विदेशमा सिकेको सिप र ज्ञानलाई नेपाल पुर्‍याउन सकेमा कार्यक्रम सफल हुने बताए। कार्यक्रममा एनआरएनका केन्द्रिय उपाध्यक्ष मन खत्रीले विदेशमा सिकेको ज्ञान र सिपलाई मुलुकमा भित्र्याउने पहल सुरू भएको धेरै भए पनि यसले सोचेअनुरुपको सफलता हात पार्न नसकेको तर्क गरे। ‘एनआरएनले धेरै अगाडिदेखि नलेज स्कील ट्रान्सफरमा काम गरिरहेको छ। त्यसमा केही प्रगति र उन्नति पनि भएका छन्। निचोड र निष्कर्शको ठेलीलाई ब्यवहारमा उतार्ने काममा भने ढिलाइ भएको छ,’ खत्रीले भने।

कार्यक्रममा विज्ञका तर्फवाट राजु अधिकारीले स्वास्थ्य र शिक्षासँगै कृषिमा अस्ट्रेलिया धेरै अगाडि रहेकोले यस्ता विषयमा यहाँको सिप र ज्ञानलाई नेपाल पुर्‍याउन सक्नुपर्ने बताए। ‘निजी क्षेत्रको प्रयास र सरकारी तहमा पहुँचसहित राजदूतावासको प्रयास भएमा सानै भए पनि योजना अगाडि बढाउन सकिन्छ’, अधिकारीले भने। क्यानबेराका अर्थविद कृष्ण हमालले अस्ट्रेलियाको उन्नत कृषि प्रणालीलाई नेपालसँग जोड्ने प्रयासको थालनी गर्न सके सबैभन्दा बढि उपलब्धिमुलक हुने बताए। ‘धेरै विषयमा बहस हुँदा त्यसको निष्कर्ष निक्लन कठिन हुने हुँदा एउटा सम्भावनाको विषय खोजेर अगाडि बढेमा त्यो फलदायी हुन्छ,’ उनले भने। कार्यक्रममा साउथ अस्ट्रेलियाका वाणिज्यदूत दिपक धमला, एनआरएन अस्ट्रेलियका अध्यक्ष केशब कडेंल, उपाध्यक्ष चुडामणि सापकोटा, ओसेनिया संयोजक होम पाण्डेलगायतले कार्यक्रमका बारेमा बोलेका थिए। लामो समयदेखि न्युजिल्याण्डमा बस्दै आएका नेकपाका न्युजिल्यान्ड संगठन प्रमुख आत्मराम खनाललाई पहिलोपटक अकल्याण्ड, ओईकाटो र नर्थल्याण्ड क्षेत्रबाहेकको अवैतनिक वाणिज्यदूतको जिम्मेवारी दिइएको छ। न्युजिल्याण्डमा वाणिज्यदूतको जिम्मेवारी पाउने आत्मराम खनाल नेपाली मुलका पहिलो व्यक्ति हुन्। यसअघि नेपाल सरकारले पहिलोपटक सगरमाथा आरोहण गर्ने सर एडमण्ड हिलारीकी कान्छी श्रीमती जुन हिलारीलाई अवैतनिक वाणिज्य दूतको जिम्मेवारी दिएको थियो। लामो समयदेखि काम गर्दै आएकी उनले उमेर र स्वास्थ्यका कारण समय दिन नसक्ने भन्दै खनाललाई अकल्याण्ड, ओईकाटो र नर्थल्याण्ड क्षेत्रबाहेकको वाणिज्यदूत तोकिएको हो। पेशाले फुल टाइम इन्जिनियर खनाल अकल्यान्ड नजिक तापामोआमा बसोबास गर्दै आएका छन्। करिब १२ हजार नेपाली बसोबास गर्दै आएको न्युजिल्यान्डमा नेपाली राजदूतावास छैन। नेपाली राजदूतावास नभएको कारण अस्ट्रेलियाले न्युजिल्यान्ड हेर्नेगर्छ र वाणिज्य दूतावासले भिसा र पासपोर्टको समेत काम गर्ने गर्छन्। नेपालीको संख्यात्मक वृद्धि हुँदैजाँदा न्युजिल्याण्डमा राजदूतावास नभएकोले सरकारी कामकाजका लागि खनाललाई अवैतनिक वाणिज्य दूतको जिम्मेवारी दिइएको जनाइएको छ। वाणिज्यदूत नियुक्तिमा राजदूतावासको सिफारीस र परराष्ट्रको मन्त्रिस्तरीय निर्णय आवश्यक पर्छ। फुटको संघारमा रहेको नेकपा र आफू निकटलाई पद सुम्पने हतारोका कारण पनि फटाफट नियुक्ति भइरहेको परराष्ट्रका जानकार बताउँछन्। खनालले नियुक्तिपछि नेकपाको भातृसंगठन ओभरसीज नेप्लीज युनाइटेड फोरम (ओएनएफ) को न्युजिल्यान्डको अध्यक्ष पद भने त्याग गरेको जानकारी गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *