उदेक लाग्दो प्रबाशी जिबन

समाज

अछाम। २५ पौष,पहाडबाट आय आर्जन र अवसरको खोजीमा भारत पस्ने र लाहुरे बन्ने परम्परासँगै विदेसिन थालेको नेपाली समाज पछिल्लो समय प्रगति र उन्नतीका लागि अवसर खोज्दै विदेशिने क्रम बढ्दो छ। तर रहर र बाध्यता बिच विदेसिएको प्रवासी जीवन सोचेजस्तो सहज र खोजेजस्तो खास छैन। प्रवासी जीवन घडीको सुइसँगै दौडिन्छ। अर्लाम र घडीको सुइसँगै चल्न नसक्दा धेरैले प्रवासलाई सरापेका छन्। विश्वका बलिया अर्थतन्त्र भएका मुलुक अमेरिका, अस्ट्रेलियालगायतमा त झन समयको महत्व बेग्लै हुन्छ आय आर्जनका लागि स्वप्नलोक मानिने अस्ट्रेलिया र अमेरिकामा बस्ने नेपालीको जीवनशैली अपवादबाहेक घडीको सुइभन्दा कम छैन। स्रोतमा प्रचुरता र अलौकिक भुगोल अनि भौतिक विकासले अस्ट्रेलिया सबैको आँखाको तारो बन्दै गएको छ। विविध भौतिक सुख सुविधा भए पनि प्रवासमा साधारण जीवनशैली सहज छैन। समुन्द्र किनारमा खिचेका सुन्दर तस्वीर अनि गगनचुम्बी भवन मुनी कलेजी ओठलाई फोटोसपले लुकाएर फेसबुकमा पोष्ट गरिएका तस्वीरले स्वदेशमा फुर्ती बढाए पनि मनैदेखि खुसी भएकाहरू कमै देखीन्छन्। विद्यार्थी भएर छिरेका प्रायः नेपाली अमेरिका र अस्ट्रेलियाजस्ता विकशीत देशको यस्तो मायाजालमा फस्छन् कि, उनीहरू न निस्कन सक्छन् न त उम्कन नै। सुरूमा कठिन विद्यार्थी जीवनपछि आवासीय भिसाको चक्करमा उनीहरूको लामो समय गुज्रिसकेको हुन्छ। केही बचाएर केही गरौं भन्ने बेलामा कलेजको फीस तिर्दै सकिन्छ। आवासीय भिसा पाउदा उनीहरू घर, परिवार र किस्तामा फसिसकेका हुन्छन्। स्वदेश फर्कीउ भने, कसरी फर्कने, नफर्कौं मातृभूमीको न्यास्रो लाग्ने। यसै बिचको त्यान्द्रोले छोएपछि प्रवासको जीवन एनआरएनको नाममा टिकट काटिन्छ। पैसा कमाएर स्वदेश फिर्छु भन्ने कयौं नेपाली यस्तै यस्तै चक्करमा रूमल्लीएर प्रवासी भएको हामीले नदेखेका होइन। तर, प्रवासी जीवनमा रमाउने र धिकार्नेको संख्या उत्तिकै छ।

ब्यक्तिगत र आर्थिक सुरक्षा, स्वास्थ सुविधा अनि काम गर्ने वातावरणले अधिकांश मानिस स्वदेश फर्कन डराउँछन्। नेपालमा बस्नेभन्दा प्रवासमा बस्नेलाई आफ्नो मुलुक प्राण भन्दा प्यारो हुन्छ। स्वदेशको डाँडाँकाडाँ, पाखापखेरा अनि संस्कार र संस्कृतिमा लालायीत उनीहरू नेपाल फर्कन भने हिचकिचाउँछन्। मानिसहरू यहाँ एउटा यस्तो जीवनमा दौडिसकेका हुन्छन् जहाँ पूर्णविरामले उठिबासनै लाग्नसक्छ, अस्ट्रेलिया बसाइको भोगाइनै यस्तै छ। उमेर र शरीरले यहाँको जीवनशैली जित्न सक्नुपर्छ। जुन दिन कामलाई जितिँदैन त्यो दिन हारेको सिपाहीझै मुन्टो निहारिउनुबाहेक केही हुँदैन। हुनसक्छ, यी कुराहरू केही नगन्य प्रतिशतमा लागू नहुनसक्छ। तर लगभग शतप्रतिशतको भोगाइ यहीँ हो प्रवासमा। यहाँ नागरिकलाई सुविधा थुप्रै छन्। नगद तिरेर घर किन्न सकिँदैन, किस्तामा सहजै पाइन्छ। घर ,गाडी, फर्निचर अनि आवश्यक सबै बस्तु किस्तामा सहजै पाइन्छ। तर किस्तामा बितेको जीवनले स्वतन्त्रता गुमाउँदोरहेछ। जीवन किस्तामा चलेपछि त्यहीँ अनुरूप कमाउनुपर्‍यो, तिर्नुपर्‍यो, त्यसका लागि सोही अनुरूप काम गर्नुपर्‍यो। अनि जुरूक्क उठेर कहीँ जाउँ, स्वदेश फर्किउ भन्ने सोचको अवासान त्यहीँ हुँदोरहेछ। करिअरको खोजीमा विदेशीनु रहर नभएर बाध्यता भन्नेको कमी छैन। पेशागत दृष्टिले सफल भए पनि जीवनमा केही चिज खट्किएको यहाँका नेपाली स्वीर्काछन्। युनिभर्सिटी अफ न्यू इङ्ल्यान्डबाट फाइनान्समा पीएचडी सकेर अध्यापन गराइरहेका रवी पौडेलले अस्ट्रेलियामा करिअर र ब्यवसायीक दक्षताका आधारमा पाँच प्रतिशत नेपाली मात्र सुखी र खुसी देखिएको बताए। सामाजिक सम्पत्तिका रूपमा रहेका संस्कार र संस्कृति गुमाउँदै गएको स्थितिमा थुप्रै हाम्रो जस्तो साना मुलुकबाट आएका मानिस अबको ३० वर्षमा स्वास्थ समस्यावाट पीडित हुनसक्ने उनको तर्क छ। ‘अहिले पैसाका लागि दिन रात नभनी काम गर्ने जमात अबको १५ वर्षपछि खराब स्वास्थ समस्याबाट गुज्रन सक्छन्, त्यसले भविश्यमा कस्तो खाले परिणाम ल्याउँछ मैले बुझेको छैन’, रवी भन्छन्।

अस्ट्रेलियाको सम्वन्धमा डाक्टर, इन्जिनियर पेशा सम्मानित मात्र हैन आर्थिक रुपमा पनि गर्विलो मानिन्छ। सामान्य एउटा जनरल फीजिसियनले वर्षको डेढ दुई करोड सहजै कमाउन सक्छन्। प्रवासमा बसेर मुलुकका बारेमा निराशाजनक कुरा गर्नुभन्दा उहीँ गएर केही आशावादी काम गरि माटोको मूल्य चुकाउन भनि एक चिकित्सकको परिवार नेपाल गएको ६ महिनामै पुनः अस्ट्रेलिया फर्किएको छ। मुलुकमा बढ्दो विसंगती र विकृति, राजनीतिक स्थीरता, कानुन तथा मानव अधिकार, सम्मान, सम्वृद्धि अनि सुशासन कायम हुने हो भने थुप्रै नेपाली किस्ताको जीवन छाडेर स्वदेश फिर्ने थिए। तर मुलुकको परिस्थितिले प्रवासिनुपर्ने बाध्यता रहेको एनआरएन अस्ट्रेलियाका महासचिव डा ज्ञानेन्द्र रेग्मी बताउँछन्। ‘अवसरको सृजना, श्रमको सही मूल्य र स्थायीत्व कायम हुने हो भने विदेशीएका लाखौं नेपाली दिनरात नभनी अर्काका लागि खर्चिएको रगत र पसीना आफ्नै भूमीमा बगाउने थिए। तर सरकारी रवैया, आर्थिक सुरक्षाको समस्या र अस्थीरताले फर्किन सकेका छैनन्’, किङ्गस्टन इन्सिच्यूटका प्राचार्य दिपक खनाल भन्छन्। बादलमा पनि चाँदीको घेरा हुन्छ भनेझैं हरेक चिजको सकारात्मक र नकारात्मक कुरा हुन्छन्। लामो समय शैक्षिक उद्योगमा कार्यरत दिपक खनालका अनुसार प्रवासमा नकारात्मक पक्ष मात्र होइन थुप्रै सकारात्मक पक्ष पनि छन्। प्रवासमा राष्ट्रियताको भावना बढी जाग्नुको पछाडि मानिसले केही आफ्नोपन गुमाएको कारणले पनि हुनसक्ने भन्दै सीड्नीका वकिल खिलेन्द्रराज तिमल्सिनाले यसलाई बाध्यताको हाँसो भन्छन्। ‘लाइफ स्टाइल सहज छ, भौतिक तथा आर्थिक सुरक्षाको ग्यारेन्टी छ तर सबै चिज हुँदाहुँदै पनि एउटा चिज नभएको जस्तो हुन्छ त्यो हो नेपालीपन’, तिम्सीनाले भने। बच्चाको पढाइ र जीवनशैली राम्रो भए पनि जिउनका लागि गर्नुपर्ने संर्घष निकै चुनौतीपूर्ण छ। जुन हाम्रो जस्तो मुलुकसँग कतै मेल खाँदैन। ‘सुशासन, सुरक्षा, उच्च जीवनशैली, बिजुली, पानीदेखि स्वास्थसम्मका सुविधाले मानिस लोभिन्छन्। काम गरेपछि हप्तै पीच्छे पाइने दाम अनि कामको सम्मान आदि इत्यादि सबै छन् यहाँ। तर पनि प्रवासमा खट्किने कुरा भनेको हाम्रो सामाजिक जीवन, आत्मीयता र राष्ट्रीयतानै हो’, वकिल तिम्सीनाले अनुभव साटे। कुनै मानिसलाई कसैले धकेलेर वा जवरजस्ती विदेश पठाएको हुँदैन। रहर वा बाध्यता या मौकाको खोजीमा विदेसिन्छन्। त्यसैले यसका लाभ र हानीका पक्षमा आ-आफ्नै तर्क र वितर्क पाइन्छन्। तर प्रवासी जीवन सोचेजस्तो सहज र भनेजस्तो कमाउ हुँदैन भन्ने कुराको हेक्का सबैले राख्नुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *