आफु पार्टीबाट निस्कासित भएपछि यी नेताहरुले दिए ओलीलाई यस्तो चेतावनी।

समाचार

नेकपा एमालेका नेता भिम रावलले केपी ओलीले आफूहरुलाई गरेको कारबाहीको कुनै अर्थ नरहेको बताएका छन्।

 

आज बसेको स्थायी कमिटि बैठकले खनालसहित माधवकुमार नेपाल लगायतका ११ जनालाई एमालेको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गरेपछि प्रतिकृया दिँदै रावलले हास्यास्पद भएको बताएका छन्।

 

उनले सामाजिक संजाल ट्वीइटरमा लेख्दै भनेका छन्, पार्टी विधान मिच्दै मनपरी गर्ने, संविधान उल्लङ्घन गर्ने,देशको अस्मिता र अस्तित्वमा आघात पार्ने नागरिकता वितरण लगायतका राष्ट्रघाती कुकृत्य गर्ने र देशलाई अस्तव्यस्त बनाउने केपी गुटले हामीलाई पार्टी सदस्यबाट निष्कासित गरियो भन्नु हास्यास्पद छ। यो केपी गुटको फुटवाद कै निरन्तरता हो ।

 

सोमबारको स्थायी कमिटी बैठकले प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने र उनलाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गर्दे सर्वोच्चमा रिट दायर गर्ने २३ मध्येका ११ सांसदलाई पार्टी सदस्यबाट निष्काशन गर्ने निर्णय गरेको हो ।

 

यस्तै नेकपा एमालेबाट निष्कासित नेता झलनाथ खनालले आफूहरुलाई गरिएको कारवाहीको कुनै अर्थ नरहेको बताएका छन् ।

 

आज बसेको स्थायी कमिटि बैठकले खनालसहित माधवकुमार नेपाल लगायतका ११ जनालाई एमालेको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गरेपछि प्रतिक्रिया दिँदै ओलीलाई कम्युनिष्ट आन्दोलनकै गद्दार भएको आरोप लगाए। ‘केपी शर्मा ओली कम्युनिस्ट आन्दोलनको गद्दार हो, कारबाहीको ओचित्य छैन,’ खनालले भने।

 

बैठकले झलनाथ खनाल, माधव नेपाल,भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा देवी जैरूलाई साधारण सदस्य नरहनेगरी निष्कासन गरेको हो। यस्तै, बैठकले अरू १२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

 

यस्तै माधव नेपाल पक्षका स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले स्पष्टीकरण र कारवाहीको कुनै अर्थ नभएकोले आफूहरुले दुख मनाउ नगर्ने बताए । ‘अध्यक्ष ओलीले जसरी पनि एमाले फुटाउने कसम खानु भएको छ, त्यसैको उपज हो नेताहरुमाथिको कारबाही’ उनले भने ।

 

एमालेका पूर्वउपाध्यक्ष ज्ञवालीले आफूहरु अब केपी ओलीसँग संगै हिँड्न नसक्ने अवस्थामा पुगेको बताए । ‘एमालेलाई जेठ २ को अवस्थामा फर्काउन उहाँ सहमत हुनुभएन, विवाद समाधान गर्न भनेर गठन गरिएको कार्यदल केबल रामबहादुर थापालाई चुनाव जिताउने रणनीति रहेछ भन्ने आज आएर पुष्टि भयो’ ज्ञवालीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *