सुदूरपश्चिम सरकारमा तरङ्ग, एमाले माधव पक्षले सरकार नछोड्ने

समाचार

धनगढी : नेकपा एमाले केपी ओली समुहको सुदूरपश्चिममा माओवादी नेतृत्वको सरकार ढाल्ने योजनामा माधव नेपाल समुहले साथ नदिने भएको छ। एमाले ओली समुहले पटक पटक प्रदेश सरकार ढाल्ने प्रयास गरेपनि नेपाल समुहको सहयोग नपाउँदा सफल हुन सकेको छैन।

प्रदेश सभामा एमालेका २५ सांसद मध्ये १८ माधव समूहका छन्। संसदीय दलका नेता र प्रमुख सचेतक पनि माधव समूहबाटै छन्। एमाले संसदीय दलले प्रदेश पार्टी कमिटीको निर्देशन नमाने पछि नेकपा एमाले स्थायी कमिटीको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाएको छ।

एमाले प्रदेश अध्यक्ष कर्ण थापाले एमालेका तर्फबाट मन्त्री रहेकाहरूलाई आज मंगलबारनै फिर्ता हुन निर्देशनसहितको पत्र पठाएको जानकारी दिए। बाहिरिने पक्षमा छैनन् मन्त्री एमालेका तर्फबाट सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह, सामाजिक विकास मन्त्री कृष्ण राज सुबेदी र उद्योग, वन तथा वातावरण मन्त्री माया भट्ट रहेका छन्। शाहलाई मुख्यमन्त्री त्रिलोचन भट्टले आर्थिक मामिला तथा योजना मन्त्रालयको पनि जिम्मेवारी दिएका छन्। तीनै जना मन्त्री नेपाल पक्षका छन्।

केन्द्रको निर्णय पछि आज मङ्गलवार सुदूरपश्चिममा एमाले संसदीय दलको बैठक बोलाइएको छ। बैठकमा ओली पक्षलाई खबर गरीएको छैन। केन्द्रको निर्णय आफूले नमान्ने सुदूरपश्चिम प्रदेशकी उद्योग वन तथा वातावरण मन्त्री माया भट्टले बताइन्। ‘सरकारबाट बाहिरिने आधिकारिक पत्र अहिले सम्म पुगेको छैन,’ मन्त्री भट्टले भनिन्,‘हामी छलफल गर्दै छौँ निर्णय चाडै गर्छौ।’

सरकारबाट फिर्ता हुने निर्णय गर्ने अधिकार संसदीय दलको रहेको सामाजिक विकास मन्त्री कृष्ण राज सुबेदीले बताए। संसदीय दलले सरकारबाट फिर्ता हुने निर्णय गरेपछि फिर्ता हुन्छौँ,’ उनले भने,‘केन्द्रको ठाडो निर्देशनका आधारमा हामी सरकारबाट बाहिरिँदैनौँ, छलफल भइरहेको छ।’

अहिले सुदूरपश्चिम प्रदेशमा माओवादी र एमालेले संयुक्त सरकार चलाइरहेका छन्। माओवादीका तर्फबाट मुख्यमन्त्री सहित भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री छन् भने एमालेको तर्फबाट अहिले ३ मन्त्री सरकारमा छन्। उनीहरू तत्काल सरकारबाट फिर्ता नहुने बताउँछन्।

पार्टीको निर्देशन नमाने कारबाही हुन्छ : थापा

पार्टीको निर्देशन नमाने तत्काल कारबाही हुने प्रदेश पार्टी अध्यक्ष कर्ण थापाले बताए। २४ घण्टा भित्र सरकारबाट फिर्ता नआएर कारबाही गर्छौँ, थापाले भने,‘पार्टीको स्थायी कमिटीको निर्णय उहाँहरूले पालना गर्नुहुन्छ, सरकारबाट फिर्ता नहुने मन्त्रीहरूलाई विधान बमोजिम कारवाही हुन्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *