खेलकुद प्रशिक्षण लाइ निरन्तरता दिनु पर्छ

खेलकूद

१७ भदौ, काठमाडौं । युरोपमा २०१९–२० को सिजनका बाँकी खेलहरु सकिसकेका छन् । च्याम्पियन्स लिग र युरोपा लिग पनि अन्तिम आठदेखि नकआउट फर्म्याटमा खेलाएर सम्पन्न भएको छ । अब यही सेप्टेम्बर दोस्रो सातादेखि इंग्ल्याण्ड र स्पेनको लिग फुटबल सुरु हुँदैछ । स्वास्थ्य नियम पालना गर्दै विनादर्शक यो सबै सम्भव भएको हो । यता नेपालमा भने अहिलेसम्म सम्पूर्ण खेलकुदको प्रशिक्षण ठप्प नै छ । २०७६ चैत ११ देखि सुरु भएको लकडाउनले गर्दा मारमा परेको नेपाली खेलकुद २०७७ साउनमा लकडाउन खुलेपछि मैदान फर्कने प्रयासमा थियो । तर कोरोना महामारीको संक्रमण संख्या बढ्न थालेपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा सुरु भयो र खेलकुद प्रशिक्षण पनि पूर्ण रुपमा ठप्प बन्यो ।

एकातिर कोरोना महामारीले गर्दा खेलकुद गतिविधि ठप्प छ । अर्कोतिर प्रशिक्षण र खेल नभएकाले खेलाडीहरुमा चिन्ता बढिरहेको छ । खेलाडीहरु चिन्तित हुनु पनि स्वभाविक हो । देशको लागि खेल्ने, सबै कुरा त्यागेर खेलमै लाग्नेहरु अहिले प्रशिक्षण नभएकाले मानसिक तनावमा छन् । खेलाडीमा यसले झन् समस्या पार्ने एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले बताए । शेर्पाले प्रतियोगिता नभए पनि खेलाडीको प्रशिक्षण भने सुरु गर्नेपर्ने धारणा राखे । भारतमा इन्डियन सुपर लिग (आईएसएल) गोवाका तीन वटा स्टेडियममा नोभेम्बरमा सुरु गर्ने तयारी भइरहेको छ । यस्तै श्रीलंकामा समेत पहिलो पटक सुपर लिग आयोजना गर्ने तयारी भइरहेको छ । नेपालमा भने अहिले सम्बन्धित निकाय सरकारले खेलकुदको बारेमा खासै चासो राखेको देखिँदैन ।

लकडाउन खुलेपछि भदौ १ देखि अन्तर्राष्ट्रिय प्रतियोगिताको लागि प्रशिक्षण गर्न सकिने सरकारले निर्णय गरेको थियो । तर कोरोना महामारीको पछिल्लो अवस्थाले गर्दा तत्कालै त्यो सम्भव नहुने भएको हो । ‘दक्षिण एसियाको सबै देशमा खेल सुरु भइसकेको छ । हाम्रोमा पनि प्रशिक्षण सुरु गर्न पाए खेलको वातावरण बन्थ्यो कि,’ एन्फा अध्यक्ष शेर्पाले भने, ‘सबैमा मानसिक रुपमा असर परिसकेको छ । कम्तीमा प्रशिक्षणचाहिँ सुरु गर्नुपर्छ ।’ डब्ल्यूएचओको र फिफाको गाइडलाइन्स अनुसार प्रशिक्षण मात्रै सुरु गर्‍यो भने पछि क्लबलाई पनि सजिलो हुने उनको भनाइ छ । ‘फिफा र डब्ल्यूएचओको गाइडलाइन्स छ । कम्तीमा त्यो गाइडलाइन्स अनुसार प्रशिक्षण सुरु गर्न पायो भने खेलको वातावरण बन्दै जान्छ,’ शेर्पा भन्छन्, ‘रोगसँग लड्ने प्रतिरोधात्मक शक्ति बढ्दै जान्छ । अनि धेरै किसिमका मनोवैज्ञानिक समस्याहरु दुर हुन्छ ।’

उनले तरकारी पसल केही घण्टाको लागि खोलेजस्तै खेलाडीको प्रशिक्षण पनि केही घण्टा खुल्ला गर्दा राम्रो हुने बताए । ‘तरकारी बेच्ने र अरु पसल खोल्ने टाइम दुई घण्टा राखेको छ । खेलाडीको प्रशिक्षण पनि दुई घण्टाको बनाइदिए हुन्छ,’ शेर्पाले भने, ‘खेलाडीहरुले ट्रेनिङ गर्छन् । हात नमिलाई सामाजिक दूरी कायम गरेर प्रशिक्षण गराउँछौँ । सबै कुरा सिकाएर प्रशिक्षण सुरु गर्दा राम्रो हुन्छ ।’

बन्द छ नेपाली खेलकुद

लकडाउन खुकुलो भएपछि विश्वकप छनोट खेल्ने तयारीमा रहेको नेपालको फुटबल टोलीको प्रशिक्षण सुरु हुने तयारी थियो । अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेलाडीलाई क्वारेन्टिनमा राख्नेदेखि पीसीआर परीक्षण गर्ने, एन्फाको होस्टल स्यानिटाइज गर्नेसम्मका सबै काम गरिसकेको थियो । तर एएफसी र फिफाले अक्टोबर नोभेम्बरमा प्रस्तावित एसिया क्षेत्रको विश्वकप छनोट खेलहरु तत्काल नहुने भन्दै २०२१ मा सारेपछि एन्फाले पनि पनि राष्ट्रिय टोलीको क्याम्प राख्नुको सट्टा खेलाडीहरुलाई रिलिज गरिदियो । त्यसको केही दिनपछि नै नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद (राखेप)ले कोरोना संक्रमण बढ्दै गएको भन्दै अर्को सूचना नआएसम्मका लागि खेलकुद प्रतियोगिता, खेलुकद प्रशिक्षण र समग्र खेलकुद गतिविधि बन्द गर्ने निर्णय गरेपछि खेलकुद गतिविधि ठप्प नै बनेको छ ।

अर्को वर्ष जापानमा हुने टोकियो ओलम्पिकको छनोट खेल्ने तयारीमा रहेका कराँते खेलाडीको प्रशिक्षण पनि साउनदेखि स्थगित भएको छ । अहिले समग्रमा नेपाली खेलकुद गतिविधि शून्य छ । खेलाडीहरु पूर्णरुपमा फुर्सदमा छन् । प्रशिक्षकहरु फुर्सदमा छन् । चाहेर पनि उनीहरुले प्रशिक्षण गर्न सक्ने अवस्था छैन । केही खेलाडीले घरमै सेल्फ ट्रेनिङ गरिरहेका छन् । तर त्यतिले मात्रै उनीहरुलाई फिट रहन पर्याप्त छैन । पाँच महिनाभन्दा बढी भइसकेको छ नेपाली खेलाडीहरुले राम्रोसँग ट्रेनिङ गर्न नपाएको । बीचको केही समय लकडाउन खुल्ला हुँदाबाहेक अरु समय खेलाडीहरु घरमै लक्ड भएका छन् । फुटबल जस्तै नेपाल क्रिकेट संघ (क्यान)ले पनि खेलाडीको पीसीआर परीक्षण गर्दै अन्तर्राष्ट्रिय प्रतियोगिताको लागि तयारी रहन क्रिकेट खेलाडीको प्रशिक्षण सुरु गर्ने तयारी गरिरहेको थियो ।तर आईसीसीले नेपालले २०२० मा कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने तालिका नरहेको बताएपछि क्यानको प्रशिक्षण योजना तत्कालका लागि टरेको छ । नेपालको राष्ट्रिय खेल भलिबलको त झन् प्रशिक्षण सुरु गर्ने तयारी नै थिएन । अब कोरोना संक्रमण नरोकिएसम्म उनीहरु प्रशिक्षण सुरु नगर्ने मनस्थितिमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *