काठमाडौंमा तरकारी तथा फलफूल खेती

समाचार

१६ भदौ, काठमाडौं । काठमाडौं रातोपुलमा दीलीप श्रेष्ठको साता आना जग्गामा बनेको घर छ । घरको कम्पाउण्डभित्रको खाली ठाउँ, कौसी र छतमा उनले मनग्गे तरकारी तथा फलफूल उमारेका छन् । दिलिपले कौसीमा तरकारी र फलफूल फलाउन थालेको २७ वर्ष भयो । नेपालमा फल्ने अधिकांश जातका तरकारी र ६ प्रकारका फलफूल आफ्नै घरमा फल्ने गरेको उनी बताउँछन् । ‘मलाई रुख कटहर, आलु, स्कुस, न्यूरो किन्नुपर्छ, बाँकी सबै घरमै फल्छ,’ श्रेष्ठले भने । घिरौँला, बोडी, साग, लसुन, प्याजदेखि सबै खाले सिजनको तरकारी र अम्बा, किवी, अनार, एभोकाडो, मेवा, स्ट्रोबेरी, कागती र ड्रागन फ्रुट घरमै फल्ने गरेको उनले सुनाए । हरेक मौसमसँगै बगैचा, कौसी र छतमा फल्ने तरकारी तथा फलफूलले मनै आनन्द हुने श्रेष्ठ बताउँछन् । काठमाडौंकै रानीवनमा रहेको तीन तले घरको छतमा सोनी केसीले हरियाली तरकारी तथा फलफूल बगैंचा बनाएकी छिन् । छिमेकी घरमा गरिएको खेती देखेर आफूलाई पनि गरौँ–गरौँ लागेको र अहिले बजारमा तरकारी किन्न खासै जान नपरेको उनले सुनाइन् । ‘आलुलगायतका तरकारी मात्रै किन्ने हो अरु त पर्दैन,’ केसीले भनिन्, ‘घरको तल रहेको जमिन, छत र कौसीमा फलेको तरकारीमा विषादी पनि नहुने र बजारको महँगीबाट पनि जोगिने रहेछ ।’ पछिल्लो ६ वर्षदेखि छतमा तरकारी फलाइरहेको उनले बताइन् । उनको घरको छतमा काउली, काँक्रोदेखि अनारसम्म फल्ने गरेको छ ।

खर्च र मेहनत

घरमा निर्वाहमुखी तरकारी तथा फलफूल खेती गर्न ठूलो खर्च नलाग्ने रातोपुलका दिलीप श्रेष्ठको अनुभव छ । सानो खेती गर्न घरबाटै उब्जनी भएको खाद्यमल, घरकै पुराना भाँडाकुँडाले पुग्ने उनी बताउँछन् । ‘तर गरिसकेपछि राम्रै गरौँ भन्ने हो भने ५० हजार वा त्योभन्दा धेरै बिउपूँजी लाग्न सक्छ,’ उनले भने, ‘मलिलो माटो, गमला, बिउ, रसायनिक मल लगायतमा गरिने खर्च नै कौसी खेतीको पहिलो लगानी हो,’ श्रेष्ठले भने । दैनिक व्यायामको लागि छुट्याइने समय मात्रै खर्च गर्ने हो भने पनि घरमै गज्जबको खेती गर्न सकिने रानीवनकी सोनी बताउँछिन् । कौसी खेतीलाई कुरेर वा धेरै बल लगाएर काम गर्न नपर्ने उनको अनुभव छ । ‘हरेक सिजन अनुसारको बिउ रोप्ने र सामान्य रेखदेख गर्ने हो, मर्निङ वाकको समय वा घरमा बस्दा बोर लागेको समय यसका लागि छुट्याए पुग्छ,’ उनले भनिन् । दैनिक आधा घण्टाको मेहनतले कुनै सिजनमा आफ्नो परिवारलाई पुर्याएर पनि आफन्त नाता गोतालाई समेत बाँड्न तरकारी पुग्ने गरेको उनको भनाइ छ ।

महँगी बाट छुटकारा

घरायसी प्रयोगका लागि फलाइने भएकाले कौसी खेतीको उत्पादनमा विषादी र रसायनिक मलको प्रयोग दुर्लभ हुने गरेको केसी बताउँछिन् । घरको भान्सामा उत्पादन हुने फोहोरबाटै मल बनाउन सकिने र आफूले चाहेको बेलामा बजारबाट किनेरै भए पनि अर्गानिक मल घरमै उत्पादन गर्न सकिने उनको भनाइ छ । बजारबाट पिना किनेर ल्याएर मल बनाउने गरेको केसीले सुनाइन् । सिजनअनुसार बजारमा तरकारीको महँगीबाट जोगिन कौसी तथा छतमा गरिने स–साना तरकारी खेती अचुक उपाय भएको श्रेष्ठ बताउँछन् । ‘दिनमा एक घण्टा मेहनत गर्र्दा मलाई बजारमा तरकारीको मूल्य बढेको समाचारले कहिल्यै अत्याउँदैन,’ श्रेष्ठ थप्छन्, ‘गमलामा स्ट्रोबेरी फल्छ, लहरामा किवी झुलेको छ, अम्बा पाक्दैछ यसले मलाई हरेक दिन आनन्दित तुल्याउँछ ।’ आफ्नै वा भाडाकै घरको भए पनि छत वा कौसीमा नहिच्किचाई खेती गर्न सबैलाई उनको सुझाव छ ।

काठमाडौं उपत्यकामा सम्भाव्यता

बढ्दो सहरीकरणका कारण काठमाडौं उपत्यकामा खेतीयोग्य जमिनको क्षयीकरण तीव्र छ । ९ वर्ष अघिको जनगणनालाई आधार मान्ने हो भने उपत्यकामा साढे तीन लाख हाराहारी घरहरु थिए । पछिल्लो ९ वर्षमा थपिएका घरहरुको छत झण्डै १० लाख हाराहारी हुन सक्ने अनुमान गरिन्छ । ती सबै घरका छत र कौसी तथा करेसाबारीमा तरकारी र फलफूल खेती हुने हो भने काठमाडौं उपत्यकाको घरायसी खपतको ठूलो हिस्सा कौसी खेतीले पूरा गर्ने काठमाडौं महानगरपालिकाको विश्वास छ । काठमाडौं महानरगमा मात्रै दुई लाख ५४ हजार २ सय ९२ वटा कुल घरधुरी रहेको महानगरले जनाएको छ । नाकाबन्दी र लकडाउनपछि महानगरमा कौसी खेतीको प्रचलन बढेको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल बताउँछन् ।

स्थानीय तहको प्रोत्साहन कार्यक्रम

यसै आर्थिक वर्ष पाँच सय घर धुरीलाई कौसी खेतीमा सक्षम बनाउने गरी कार्यक्रमहरु पारित भएको काठमाडौं महानगरपालिकाले जनाएको छ । कौसी खेती गर्न चाहने सर्वसाधारणले आफ्नो वडामा निवेदन दिन सकिने र इच्छुकहरुको समूह तयार भएपछि महानगरले तालिम प्रदान गर्ने प्रवक्ता डंगोल बताउँछन् । ‘आफ्नो घरको लागि पुग्ने आधारभूत तरकारी सर्वसाधारणले घरमै फलाउन सकुन् भन्ने महानगरको इच्छा हो,’ प्रवक्ता डंगोलले भने । महानगरले सञ्चालन गरेको तालिममा १२ सय जना सहभागी भएको महानगरले जनाएको छ । तरकारी र फलफूल उत्पादन बढाउन सरकारको नीति तथा कार्यक्रममै कौसी खेतीको अवधारणा समावेश गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको भनाइ छ । कौसी खेतीको सन्दर्भमा नीति मन्त्रालयको भए पनि कार्यक्रम र आयोजनाहरु भने प्रदेश र पालिकाहरुकाबाट मात्रै सञ्चालन हुने मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. हरबहादुर केसी बताउँछन् । ‘कौसी खेतीको अवधारणा स्पष्ट नभएका कारण यकिन तथ्यांक छैन तर धेरैजसो प्रदेश र पालिकाले कार्यक्रम गरिरहेका छन्,’ केसीले भने । कौसी खेतीको परिभाषा र अवधारणा छिट्टै तयार हुने र यसलाई परिणाममुखी बनाइने मन्त्रालयको तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *