आइफोन १२ भारतमा बन्ने, १२ मेगापिक्सेलको मुख्य क्यामरा

समाज

आइफोन प्रयोगकर्ताहरुले एप्पलको नयाँ संस्करण आइफोन १२ को व्यग्र प्रतिक्षा गरिरहेका छन् । आगामी सेप्टेम्बर १० मा एप्पलले आइफोन १२ सिरिज लञ्च गर्ने अनुमान गरिएको छ । आइफोन १२ को लुक्स तथा डिजाइनदेखि क्यामरालगायतका विभिन्न फिचर्सका बारेमा केही समय यता सञ्चार माध्यमहरुले अनेक खुलासा गरिरहेका छन् । केही समयअघि सार्वजनिक भएको एउटा समाचारमा आइफोन १२ को संस्करणमा ६४ मेगापिकृसेलको प्राइमरी क्यामरा रहने दाबी गरिएको थियो । तर उक्त दाबीलाई खण्डन गर्दै पछिल्लोपटक एक नयाँ समाचार आएको छ जसले आसन्न आइफोनको धमाकेदार क्यामराको प्रतिक्षा गरिरहेका एप्पल फ्यानहरुलाई झट्का दिनसक्छ । त्यो के भने आइफोन १२ मा ६४ मेगापिक्सेलको नभई १२ मेगापिक्सेलको प्राइमरी क्यामरा सेन्सर हुनेछ ।

सबै मोडेलमा १२ मेगापिक्सेल क्यामरा

रिपोर्ट अनुसार आइफोन १२ सिरिजका सबै मोडेलहरुमा १२ मेगापिक्सेलकै मुख्य क्यामरा सेन्सर रहनेछ । रिपोर्टअनुसार एप्पलले पहिलोपल्ट आइफोन १२ भारतमा समेत उत्पादन गर्दैछ ।
आइफोनको उक्त मेड इन इण्डिया मोडेल भारतको बैंगलोरमा उत्पादन हुनेछ । बैंगलोरमा बन्ने आइफोन १२ सन् २०२१ को मध्यसम्ममा बजारमा आउने अनुमान गरिएको छ । हालैको एक रिपोर्टअनुसार आइफोन १२ सिरिजको मूल्य ७ सय देखि १२ सय डलर सम्म पर्नेछ । यसको अर्थ आइफोन १२ को सबैभन्दा महंगो मोडेल समेत आइफोन ११ भन्दा सस्तो हुनेछ । आइफोन १२ सिरिजमा आइफोन १२, १२ म्याक्स, १२ प्रो र १२ प्रो म्याक्स गरी विभिन्न ४ वटा मोडेल आउने बताइएको छ । यद्यपि नाम त्यहीँ नै रहन्छ भन्ने अहिलेसम्म एप्पलको तर्फबाट कुनै आधिकारिक धारणा आएको छैन । एक रिपोर्टअनुसार आइफोन १२ प्रो को डिजाइन धेरै हदसम्म आइफोन फाइभबाट प्रभावित हुनेछ । आइफोन १२ फाइभ जी मोडेलमा आउने अपेक्षा गरिएको छ ।

काउन्टर प्वाइन्ट रिसर्चको पछिल्लो रिपोर्टअनुसार चालु वर्ष सन् २०२० को दोश्रो त्रैमासिकमा चिनियाँ बजारमा आइफोन ११ सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोन बनेको छ । रिपोर्टअनुसार आइफोन ११ पहिलो स्थानमा रहँदा ओप्पो ८, अनर ९ एक्स, भिभो वाइ थ्री र हुवावे मेट ३० फाइभ जी शीर्ष पाँचभित्र पर्न सफल भएका छन् । यीमध्ये आइफोन ११ र हुवावे मेट ३० फाइभ जी मात्रै पि्रमियम सेग्मेन्टका फोन हुन् भने अन्य तीनवटा फोन सुपथ मूल्यका अर्थात् बजेट फोन हुन् । चीनका अलावा अमेरिका, जर्मनी, बेलायत र जापानमा समेत आइफोन ११ सर्वाधिक लोकप्रिय फोन बनेको छ । बेलायतमा त सबैभन्दा लोकप्रिय शीर्ष ५ स्मार्टफोन मध्ये ४ वटा आइफोन नै परेका छन् । जापानमा पनि सर्वाधिक लोकप्रिय शीर्ष ३ स्मार्टफोनमा आइफोन ११ परेको छ ।

रिसर्च कम्पनीले समेत आफ्नो एक रिपोर्टमा आइफोन ११ अहिले विश्वकै सबैभन्दा लोकप्रिय फोन रहेको निष्कर्ष निकालेको छ । कोरोना भाइरस महामारीका बाबजुत सन् २०२० को पहिलो ३ महिनामै एप्पलको आइफोन ११ विश्व बजारमा १ करोड ९५ लाख गोटा बिकेको थियो । एप्पलको फ्लागशीप फोन आइफोन ११ मा विभिन्न उत्कृष्ट फिचरहरु रहेको हुनाले स्मार्टफोन प्रयोगकर्ताहरुले निकै रुचाएका छन् । यसमा ६.१ इन्चको एलसिडी डिस्प्ले, सिक्स कोर ए१३ बायोनिक ६४ बिटको प्रोसेसर र अक्टाकोर न्यूरल इन्जिन रहेको छ । यो आइफोन ६४ जिबी, १२८ जिबी र २५६ जिबी गरी तिनवटा स्टोरेज मोडेलमा उपलब्ध छ । चिनियाँ बजारमा स्वदेशी स्मार्टफोनहरुले शीर्ष ५ मध्ये ४ स्थान कब्जा गरिरहेको बेला अमेरिकामा चाहिँ सामसुङका स्मार्टफोनसमेत लोकप्रिय देखिएका छन् । सन् २०२० को दोश्रो त्रैमासिकमा अमेरिकी बजारमा समेत आइफोन ११ सर्वाधिक लोकप्रिय रहेको छ । दोश्रो स्थानमा सामसुङ ग्यालेक्सी ए१०ई रहँदा तेश्रो स्थानमा सामसुङ ग्यालेक्सी ए२० रहेको छ । चौथो स्थानमा आइफोन एक्सआर र पाँचौँ स्थानमा आइफोन ११ प्रो म्याक्स रहेको छ । उता दक्षिण कोरियाली बजारमा भने सामसुङ ग्यालेक्सी ए५१ पहिलो स्थानमा रहन सफल भएको छ । विश्व बजारमा समग्रमा पहिलो स्थानमा रहेको आइफोन ११ कोरियाली बजारमा भने दोश्रो स्थानमा झरेको छ । तेश्रो स्थानमा हुवावे पि३० लाइट, चौथो स्थानमा शाओमी रेडमी नोट ८ टी र पाँचौ स्थानमा हुवावे पि स्मार्ट २०२० रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *