भिड कम भएको बेला छापिए सबै स्मार्ट लाइसेन्स

समाचार

३ भदौ, काठमाडौं । प्रक्रिया पुरा गरेका स्मार्ट लाइसेन्सको छपाइ सकिएको छ । गत जुलाई महिनासम्म लाइसेन्स कार्यालयहरुले नयाँ जारी गर्ने र नवीकरण गर्ने गरी विभागमा छाप्न पठाएका सबै स्मार्ट लाइसेन्सको छपाइ सकिएको हो । छपाइ ढिलो हुँदा करिब ४ वर्षदेखि स्मार्ट लाइसेन्सको वितरणमा समस्या छ । तर, लकडाउनका कारण नयाँ लाइसेन्स जारी गर्ने क्रम लगभग रोकिएपछि विभागले पुरा लाइसेन्स को छपाइ सकेको हो ।गत वर्ष इटालीबाट विभागले मास प्रिन्टर पनि किनेर ल्याएको थियो । सबैजसो प्रदेशमा कोरोनाको महामारीका कारणा सवारी लाइसेन्सको परीक्षा बन्द भएका छन् भने नवीकरणको क्रम पनि पातलिएको छ । यसले गर्दा विभागमा छापाइ गर्नुपर्ने लाइसेन्सको चाप घटेको थियो । यही मौकामा विभागले लगातार छपाइको काम गरेर ‘ब्याक लक’ फुकाएको हो ।

विभागका प्रवक्ता तीर्थराज खनालका अनुसार अब प्रक्रिया पुरा गरेपछि चालकहरुलाई एक महिनामै लाइसेन्स दिन सकिनेछ । कागजी प्रक्रिया पुरा भएर आउने लाइसेन्स छापेर हुलाकमार्फत सम्बन्धित प्रदेशमा पठाउनुपर्ने भएकाले एक महिनाको समय लाग्ने अवस्था विद्यमान रहेको उनले बताए ।‘अब पुराना लाइसेन्स छाप्न बाँकी छैन,’ उनले भने,’अब नियमित रुपमा आउने लाइसेन्स नियमित रुपमै छापिएर कार्यालयहरुमा पाउन सकिने छ ।’ तर, लाइसेन्स कार्यालयहरुका अनुसार लकडाउनका बेलामा चालकहरु घरमै थुनिएकाले धेरै जना नवीकरणका लागि आएका छैनन् । नयाा लाइसेन्स लिने र वर्ग थप्नेहरु पनि प्रक्रियामा सामेल हुन पाएका छैनन् । स्थिति समान्य हुनासाथै कार्यालयहरुमा भीड बढ्ने र फेरि एकैपटक थुप्रै चालकहरुले लाइसेन्स माग गर्ने भएकाले भविष्यमा विभागको छपाइको क्षमताले धान्न कठीन हुने उनीहरु बताउँछन् ।

चैत ११ पछिको लकडाउन अवधिमा लाइसेन्सको म्याद सकिएर पनि नवीकरण गर्न नपाएका सवारी धनीले जरिवाना तिर्नुनपर्ने भएको छ । यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै लकडाउन अवधिमा म्याद सकिएका सवारी धनीले भदौ मसान्तसम्म नवीकरण गर्दा जरिवाना तिर्नुनपर्ने जानकारी दिएको हो ।यसअघि पनि यस्तो सुविधा दिने भनिएपनि प्रणालीमा त्यस्तो छुट दिने गरी व्यवस्था नगर्दा यातायात कार्यालयले जरिवाना उठाएका थिए । अहिले विभागले सिस्टमलाई ‘मोडिफिकेसन’ गरेर भदौसम्म नवीकरण गर्दा जरिवाना नलाग्ने व्यवस्था गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *