छानबिन समितिले दार्चुला घटना बारे यस्तो निकाल्यो निष्कर्ष

१५ भदौ, काठमाडौं । छानबिन समितिले दार्चुलामा तुइनबाट नेपाली नागरिक महाकाली नदीमा खसेको घटना भारतीय सुरक्षाकर्मीको उपस्थितिमा भएको निष्कर्ष निकालेको छ ।

गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम संयोजकत्वको छानबिन समितिले ब्याँस गाउँपालिका- २ का जयसिंह धामी महाकाली नदीमा खसेको घटना भारतीय सुरक्षाकर्मी एसएसबीको उपस्थितिमा भएको निष्कर्ष निकालेको हो । छानबिन समितिले एसएसबीको संलग्नतामा पुन: अनुसन्धान गर्न र दोषीलाई कारबाही गर्न सिफारिश गरेको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले बताएका छन् ।

‘समितिले उक्त घटना भारतीय एसएसबीका सुरक्षाकर्मीको उपस्थितिमा घटेको देखिएकोले निजहरुको संलग्नता सम्बन्धमा अनुसन्धान गरी दोषी उपर कानूनी कारबाही गर्न र जयसिंह धामीका परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट पहल गर्न साथै आश्रित परिवारलाई नेपाल सरकारका तर्फबाट पालनपोषण र शिक्षादीक्षाको व्यवस्थापन गर्न सिफारिश गरेको छ’ पोखरेलले मंगलबार साँझ जारी गरेको विज्ञप्तिमा भनेका छन् ।

गत साउन १५ गते महाकाली नदी तर्ने क्रममा दार्चुलाको ब्याँस गाउँपालिका– २ का जयसिंह धामी नदीमा खसेर बेपत्ता भएका थिए । प्रत्यक्षदर्शीले भारतीय सुरक्षा बल एसएसबीले तुइनको डोरी काटिदिएका कारण उनी नदीमा खसेको बताएका छन् ।

सरकारले यस विषयमा छानबिन गर्न साउन १७ गते सहसचिव गौतमको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post एमालेको अभिलेखबाट माधव नेपालको नाम हटाइने
Next post दु:खद खबर: अन्ततः कलाकार निशा घिमिरेको नि’धन ! जानकारीको लागि सेयर गर्नुहोला।